Skip to content
Poetry

एउटा कन्सर्ट

एउटा कन्सर्ट केही बेरमा, र यी औँलाहरूले— जसले कहिल्यै बन्दुकको घोडा दबाएका छैनन्— म एउटा धुन बजाउनेछु। सूर्यमुखीमाथि, सम्भव भए तिम्रो कमिजका बटनहरूमाथि पनि— एउटा धुन। राइन नदीभन्दा लामो, आफ्नो कूटनीतिक पासपोर्ट बोकेर हावासँगै यात्रा गर्ने सुस्केराभन्दा शक्तिशाली एउटा धुन। गडगडाउँदै गुड्ने ट्याङ्कहरूको आवाजसँगै म त्यो विद्रोही धुन बजाउनेछु। त्यो दर्शकका लागि, जसले यो प्रस्तुतिलाई गम्भीरतापूर्वक लिँदैन। त्यो सूर्यका लागि, जसले नयाँ पैगम्बरहरूको पहिचान खोजिरहेछ। ती कुकुरहरूका लागि, जो प्रेम र वासनाका बारेमा सोचिरहेछन्। त्यो अजेय शक्तिका लागि— म एउटा धुन बजाउनेछु। यी बाङ्गाटिङ्गा औँलाहरू होऊन् वा नहोऊन्, म बजाउनेछु त्यो धुन— दियासलाईनका बाकसहरूमाथि, पर्खालहरूमाथि, जहाँ लेखिएको छ— “जनता जे चाहन्छन्, त्यही।” आवश्यकताभन्दा पनि धारिलो काँडेतारमाथि, खराब दिनहरूमा पनि म्याराथन दौडिरहने जुत्ताहरूमाथि— म बजाउनेछु त्यो धुन, जो अहिले यी औँलाहरू हुँदै फैलिँदैछ, त्यस्तो डुङ्गाझैँ जसले अन्ततः डुबिरहने आफ्नो मोहलाई परास्त गरिसकेको छ।