Skip to content
Poetry

भन्न नसकिएका कुरा

घाँटीको किलकिलेसम्म आइपुगेका, फेरि मौनताको गहिराइमा डुबेका ती हजारौँ शब्द, जुन कहिल्यै मेरो ध्वनिको रूपमा बाहिर निस्केनन्, तर भावनाले पनि तिनलाई बाँध्न सकेन। कहिलेकाहीँ मनभित्र एउटा बतास चल्छ, जहाँ शब्दका पातहरू हावामा झुलिरहन्छन्। म भन्न खोज्छु, “अब भयो, मलाई तिम्रो साथ चाहिएको छ,” तर ओठसम्म आइपुगेका ती शब्दहरू एउटा मिठो मुस्कानले फेरि लुकाइदिन्छु। ती शब्दहरूको बोझ कति भारी छ, जुन व्यक्त हुन नसकी मनमै गुसुमुसिएर बसेका छन्। भन्नुपर्ने धेरै थियो, सायद माफी पनि माग्नै थियो, तर समयको घडी यसरी फेरियो कि ती सम्पूर्ण शब्दहरू त्यसैभित्र कैद भए। कसैले सोध्छ, “सन्चै छौ?” म भन्छु, “ठिकै छु।” तर भित्र लुकेका बेठिकका कथाहरू कसले पढ्ने? सायद कुनै दिन कोही आउनेछन्, जसले यी मौन शब्दहरू बुझ्नेछन्, र त्यस दिन हरेक शब्दले आफ्नै एउटा अर्थ पाउनेछ। त्यतिन्जेल, “भन्न नसकिएका कुरा” नभनेकै बेस।