महिनाको त्यो चार दिनको दुःख,
भन न दिदी तिमी कसरी पोख्छौ?
खुला आकाशमा सास फेर्नुपर्ने तिमी,
किन त्यही एउटा बन्द कोठामा लुक्छौ?
मानिसको असल अस्तित्व झल्किने हो त्यो दिन,
हरेकको आमासँगको ऋण हो त्यो दिन।
मभन्दा पनि तिमीलाई सबै थाहा छ
सबै बुझ्छौ सबै सहन्छौ
तर पनि दिदी.. तिमी किन लुक्छौ?
संसारले ढोका बन्द गर्ला म साथ दिन्छु
हिँड्न तिमीलाई गाह्रो भए म हात दिन्छु।
भाइको साथ हुँदाहुँदै पनि किन समाजअगाडि तिमी झुक्छौ???
भन न दिदी..
किन त्यही बन्द कोठाको अँध्यारो रोज्छौ?
"छिमेकीले के भन्लान्?" बाहिर ननिस्किनु है??
आफ्नै आमाको शब्दले
तिमीलाई कति छुन्छ होला?
"बाबाको छोरी" भनेर गर्व गर्थ्यौ नि तिमी,
अहिले नजिक जान नपाउँदा
त्यो मन कति रुन्छ होला?
एकछिन सोच्दा म आफैँ अड्किन्छु
किन तिमीलाई "अशुद्ध" मानिएको होला?
निश्चल बगिरहने खोलाको पानी
त्यो पनि त कतै मधुरो होला...
यो दोष त तिम्रो मात्र हो र
यो त मौन बसेको समाजको पनि त अपराध हो।
रगतको रङलाई अपवित्र भन्ने सोच भएको
यो समाजको कुरा किन अझै टेर्छन्
सिङ्काको पीडा थाहा छैन ढुङ्गा हान्ने सोच
यस्तै छन् यहाँ हर स्वासमा तर्क फेर्छन्।
तिमी लुक्दैनौ दिदी तिमीलाई लुक्न बाध्य पारिन्छ
जसरी बजारमा ती मौन जनावरहरूलाई जिउँदै मारिन्छ
हेर न समाज जन्मिने रगत देखेर समाज नै डराउँछ
आमाको गर्भबाट सुरु हुने जीवन अपवित्र किन कहलाउँछ
समाजले बनाएको रीति नै शुद्ध हो भने
चार दिन अवहेलित हुने महिलालाई आमाको दर्जा किन दिइयो
मुठ्ठाबाट टुक्राटुक्रा पार्दै भाँच्ने यो समाजमा के को अर्थ खोज्छौ
अब भन दिदी तिमी दरिद्र समाज की असल सोच रोज्छौ
हात समाउ दिदी मेरो समाजको आँखा उठ्न दिन्न।
जतिकै भिडमा हिँड तिमी अटल यो साथ छुट्न दिन्न।
समाज बनाउने यी कायरहरूको के कुरा गर्छौ
यिनै त हुन् सवको माथि मन्दिर र मस्जिद बिछ्याउने
आफ्नै आमालाई वृद्धाश्रम अगाडि लत्याउने
मैले भनेका शब्द
सायद धेरैका अव्यक्त आवाज हुन्।
तिमी दिदी है?
भाइको मन बुझ्छौ
तर पनि दिदी
किन तिमी त्यही बन्द कोठाको अन्धकारमा लुक्छौ??
दिदी तिमी किन लुक्छौ ?
· · 2 min read
सम्बन्धित साहित्यRelated Literature
आमा
तिम्रो नाम सुन्नासाथै सबै गुणले भरिएको एउटा सुरक्षित आकाश सम्झिन्छु म। तिमी हुँदा यो रुखो हुँदै गएको हृदयमाथि…
Nawnit Paudel
July 14, 2026
2 min read
मानव सृष्टि !
मान्छे भएर जन्मिनु मात्रै, मानव हुनु होइन रहेछ, अरूको आँसु देखेर पनि आफ्नो बाटो लाग्नु होइन रहेछ। कसैको…
Bibisha Khadka
September 20, 2026
1 min read
देशमा केही हराएझै लाग्छ
गोपाल बा,क्षेत्रप्रताप बा देशमा केही हराएझै लाग्छ। कलम लिएर आवाज उठाउनेलाई गोली हान्ने सरकार कलिला नानीहरूको बलात्कारीलाई फाँसी…
Sujan Barakoti (Raawan)
September 20, 2026
1 min read
