तिम्रो नाम सुन्नासाथै सबै गुणले भरिएको एउटा सुरक्षित आकाश सम्झिन्छु म। तिमी हुँदा यो रुखो हुँदै गएको हृदयमाथि सुखका बादल चुपचाप छाउँथे । तिम्रो प्रेमसँग तुलना गर्ने केही मैले कहिल्यै भेटिनँ, र तिमीभन्दा अरू कसैलाई मैले यति माया पनि गर्न सकिनँ। तिमी साथ हुँदा संसार जित्ने आँट पलाउँथ्यो, काँप्ने यी हातहरू पनि सम्हाल्न सिक्थेँ, किनकि मेरो आधार नै तिमी थियौ ।
नौ नौ महिना कोखमा राखेर जसरी मलाई जन्म दियौ, म नहुँदा दैवसँग रोएर मलाई माग्ने पनि तिमी नै त थियौ। तिम्रो नाम मैले आफ्ना नसा-नसामा लेखेको छु, किनकि मेरो सरिरको हरेक कम्पन तिमीबाटै सुरु भएको हो। कसरी बोकेकी छौ पीडाको यत्रो समुद्र तिमीले आमा...मलाई पनि सिकाइदेऊ न। जीवन यति रुखो भइसक्यो कि कसैले बोकेको सलाई देख्दा पनि डर लाग्छ।
तिम्रो आँट र साहसले मेरो जीवन जुन बनेको छ, किन यति धेरै माया गर्छौ आमा? घरमा बाबुको लुगा खोज्ने, दिदीको कलेजका लागि खाजा बाँधिदिने, मलाई स्कुल समयमा छोड्ने, अनि समय बाँकी रह्यो भने धानका दाना कुटुकुटु टोक्दै बस्ने, यी साना दृश्यहरूमा नै त तिम्रो संसार अटाएको छ।
तिमी आफ्ना लागि कहिल्यै बाँचेकी छैनौ। पहिले आफ्नी आमालाई सघायौ, पछि घर-परिवार सम्हाल्दै फुर्सद पाएनौ।
अहिले घरबाट टाढा बस्दा तिमी झन् धेरै याद आउँछौ। सन्चो नभएको बेला "खाना खा" भन्ने यहाँ कोही छैन। तिमीले गरेको गालीमा लुकेको त्यो प्रेम अन्धोझैँ अन्देखा गर्ने म, आज त्यही सम्झिँदै बाँचिरहेको छु। यहाँको बसाइ, आमा...मानिसबाट मानवता झर्ने ठाउँ रहेछ, जहाँ सबै आफ्नै फाइदाका लागि अरूलाई तल झार्दै अगाडि बढ्दा रहेछन्।
तिमीले त मलाई शान्त हुन सिकायौ, "जे गर, मनबाट गर" भन्यौ, "अरूलाई सुई घोच्नुभन्दा आफूले छुरी खानुमा आनन्द हुन्छ" भनेर सिकायौ। तर आमा, यहाँ त्यो संसार छैन। तिमीले देखाएको संसार निकै राम्रो थियो...जहाँ दानवभित्र पनि मानव लुकेको हुन्थ्यो। यहाँ त मानव नै दानव रहेछन्,
आज म टाढा छु र त बुझ्दैछु,,,संसारबाट टाढा भएको हैन म त तिमीले देखाएको संसारबाट टाढा भएको रहेछु। म तिमीलाई सम्झिन्छु र त्यो संसारलाई पनि जहाँ म सुरक्षित थिएँ, मानव थिएँ र जहाँ म तिम्रो छोरो मात्रै थिएँ।
आमा
· · 2 min read
सम्बन्धित साहित्यRelated Literature
हस्तरेखामा समय रोकौँ?
हस्तरेखा सिक्नुको कारण भाग्य पढ्नु थिएन तिम्रो हात समाएर समय रोक्नु थियो रेखाहरूमा भविष्य खोज्ने बहाना मात्रै थियो…
Nawnit Paudel
July 14, 2026
2 min read
मानव सृष्टि !
मान्छे भएर जन्मिनु मात्रै, मानव हुनु होइन रहेछ, अरूको आँसु देखेर पनि आफ्नो बाटो लाग्नु होइन रहेछ। कसैको…
Bibisha Khadka
September 20, 2026
1 min read
देशमा केही हराएझै लाग्छ
गोपाल बा,क्षेत्रप्रताप बा देशमा केही हराएझै लाग्छ। कलम लिएर आवाज उठाउनेलाई गोली हान्ने सरकार कलिला नानीहरूको बलात्कारीलाई फाँसी…
Sujan Barakoti (Raawan)
September 20, 2026
1 min read
फलाम की कपास
कहिले काहीँ सोच्ने गर्छु, कुन चाहिँ भारी होला १ किलो फलाम की, १ किलो कपास की त भारी…
Milan Gautam
September 20, 2026
1 min read
