Skip to content
Poetry

मेरो मृत्यु :

मलाई जान्न मन छ मेरो मृत्यु कसरी हुन्छ? कुन चिसो साँझमा यो अल्झिएको सास थुनिन्छ? कसरी आउँछ त्यो पल कुन रूप लिएर? मलाई लैजान्छ कुन बाटो यो संसार छोडेर? के त्यो कुनै शान्त रातको मीठो निन्द्रा हुनेछ? जहाँ दुखिरहेको यो मनले सितल छहारी पाउनेछ। वा कुनै व्यस्त सडकको एउटा तितो मोड बन्नेछ? जहाँ अचानक गुडिरहेको जिन्दगीको चक्का रोकिनेछ। के म कतै एक्लै हुँदा सुटुक्क आउनेछ त्यो? या आफन्तको भीडमा आँसुको सागर बगाउनेछ त्यो? म हाँसिरहेको बेला आउला कि रोइरहेको पलमा? मेरो कथाको अन्त्य लेख्न कुन दिनको कुन प्रहरमा? म सोध्छु कहिलेकाहीँ कस्तो होला त्यो रूप? शून्य अँध्यारो रात जस्तो कि न्यानो घामको किरण ? मलाई डर त लाग्छ हरेक मान्छेले हिँड्नै पर्ने त्यो अन्तिम गोरेटो कस्तो हुन्छ होला ? सासको यो डोरी चुँडिएर जब शरीर ढल्नेछ यो धर्तीमा मेरो नाम केवल एउटा सम्झना बन्नेछ। मलाई जान्न मन छ मेरो मृत्यु कसरी आउँछ? यो चल्दाचल्दै गरेको मुटु कुन बहानामा रोकिन्छ?