Skip to content
Poetry

बौलाहा

यताउता गल्लिमा भैतारिरहेको देख्छु, बाटै छेकेर मान्छेहरुसंग ठट्टा गर्छ, डस्टबिनबाहिर फ्याकेंको फोहोर टिपी, डस्टबिनमै हालिदिन्छ । झुत्रो र मैलो लुगा लगाउँछ, उसका कमिज ठाउँ-ठाउँमा फाटेका छन्, पाईन्ट धागोँ लगाई अड्काएको छ, झट्ट हेर्दा घीनलाग्दो झुस्स दारी छ गालामा, कपाल नकाटेको बर्षौ जस्तो देखिन्छ- मैलो देखिन्छ, फित्ता छिनिएका चप्पल डोरीको भरमा लगाउँछ, कसैलाई हानी गर्दैन तर पनि मानिसहरु उसंग घिनाउँछन्, कहिले पाटीमा भेटिन्छ, कहिले गल्लिमा, कहिले सडकमै सुतिरहेको देख्छु । दयामायाले कसैले केही दिए खान्छ तर कसैलाई हानी गर्दैन, कसैसंगको खोसेर, मागेर खादैँन । घामपानी, चिसोतातो जुनसुकै मौसम सहने शक्ति छ उसमा । कहिलेकाहीं यै टोलका मान्छेहरुले लखेट्छन उसलाई, भोजभतेर, र मन्दिरमा प्रवेश निषेध छ उसलाई, सोध्छु किन मान्छेमा यस्तो भिन्नता? अनि मानिसहरु भन्छन् _ बौलाहा हो ऊ ।